एमालेको नतिजा उल्टीयो, ओलीले ७ मतले उछिने नेपाललाई

असार ३१, काठमाडौँ –

एमाले निर्वाचनको पछिल्लो मतगणनाअनुसार अध्यक्षका दुई उम्मेदवार केपी शर्मा ओली र माधवकुमार नेपालबीच सात मतको फरक देखिएको छ।गएराती अबेर सम्मको गणनामा ४७ भोटले अग्रता लिएका नेपाललाई ओलीले लिएको अग्रतासँगै एमालेमा कस्ले बाजी मार्ला भन्नेमा नेता कायकर्ता दोधारमा परेका छन् ।  चार र पाँच नम्बर बुथको गणनाको परिणाम अनुसार नेपालले ७५५ मत पाएका छन् भने ओलीको ७६२ पुगेको छ । अब करीव ५ सय ५० मत गन्न बाँकी छ ।  त्यस्तै महासचिवमा पनि सुरेन्द्र पाण्डे पनि पछि परेका छन् । हिजो  ७६ भोट अघि रहेका पाण्डेको अहिले ७६५ र इश्वर पोखरेलको ७२६ मत प्राप्त भएको छ । अब महासचिवमा मत अन्तर ३९ मा झरेको छ ।
आज गणना हुने बुथहरुमध्ये गण्डकी, लुम्बिनी, राप्ती र भेरीमा ओली पक्षले अग्रता लिने अनुमान गरिएको छ भने सेती, महाकाली, कर्णाली र प्रवासमा नेपाल पक्षले अग्रताको अपेक्षा गरेको छ ।   एमाले निर्वाचनमा केन्द्रीय सदस्यको मतगणनामा रामकुमारी झाँक्री ७२४ मतका साथ सबैभन्दा अगाडि देखिएकी छन्। मतगणनास्थलमा रहेका प्रतिनिधिले दिएको जानकारीअनुसार अहिलेसम्म गनिएका १२९० मतमध्ये उनले ७२४ मत ल्याएकी हुन्। उनले केन्द्रीय सदस्यका दुई नम्बर उम्मेदवारलाई १८८ मतले पछाडि पारेकी छन्।