चार वर्षदेखि थन्क्याइएका शव शिक्षण अस्पतालबाट जनकपुर लगिँदै

असार ३१, काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महारागञ्जको शव गृहमा चार वर्षदेखि राखिएका पाँचजना द्वन्द्वपीडितका शव साउन पहिलो साता अन्तिम संस्कारका लागि जनकपुर लगिने भएको छ ।

द्वन्द्वकालमा सरकार पक्षबाट हत्या गरिएका प्रमाणित भएपछि ती शव अन्तर्राष्ट्रिय संस्थासमेतको सहयोगमा आफन्तको जिम्मा लगाउने निर्णय गरिएको राष्ट्रिय मानअधिकार आयोगले जनाएको छ । आयोगका कामुसचिव वेदप्रसाद भट्टराइले यसमा सहयोगका लागि प्रहरीलाई आग्रह गरिसकेकाले साउन ७ गते जनकपुर पुर्याउने कार्यक्रम तय भएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रहरी महानिरीक्षक भइ अवकास पाइसकेका कुवेरसिंह रानाको नाम यो हत्या प्रकरणमा जोडिएको छ । यो प्रकरणमा तीनसाता अघि मृतकहरुको अन्तिम सनाखत प्रतिवेदन प्रमाणित हुन सकेको हो । फिनल्याडको हेलसिन्की विश्वविद्यालयले मृतकहरुको हड्डी र उनीहरुका आमाबाबुको रगत जाँच गरी डिएनए रिर्पोट पठाएको थियो ।

२०६० साल असोज २१ गते धनुषा प्रहरीद्वाा पक्राउ गरिएका सञ्जिव कर्ण, दर्गेश लाल, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवलाई गोली हानेर हत्या गरी धनुषाकै तल्लो गोदार(३ स्थित कमला नदीको किनारमा गाडिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले २०६४ माघ १५ मा तत्कालीन एसएसपी चूडावहादुर श्रेष्ठ, धनुषाका तत्कालीन एसपी कुबेरसिंह राना, नेपाली सेना नौ नम्बर बाहिनी फिल्ड धनुषा धारापानीका मेजर अनुप अधिकारी र तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीरमण काफ्ले हत्यणमा संलग्न भएको आरोप लगाउँदै आवश्यक कारबाही गर्न सरकारलाई। पत्र लेखेको थियो ।