बजेट संशोधन नगरे संसद् अबरुद्ध गर्ने एमाओवादीको तयारी

असार ३१, काठमाडौँ – व्यवस्थापिका संसदको प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले आइतबार सरकारले पेस गरेको बजेट शान्तिप्रक्रियाविरोधी र आत्मनिर्भरताको सिद्धान्तविपरित भएको निष्कर्ष निकालेको छ । बजेट सच्याउन सरकार तयार नभए सदन अबरुद्ध पार्ने रणनीति बैठकले तय गरेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा सोमवार बसेको बैठकले सुरुमा बजेटको विरोध र भण्डाफोर गर्ने त्यसपछि सच्याउन सरकार तयार नभए सदन अबरुद्ध पारेर पास हुन नदिने रणनीति तय गरेको हो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सभासद एवं एमाओवादी स्थायी समिति सदस्य अग्नि सापकोटाले जनयुद्धलाई पूरै अस्विकार गरेर सरकारले शान्ति प्रक्रियाको भावनाविपरित बजेट ल्याएको बैठकको निष्कर्ष रहेको बताए । ‘जनआन्दोलनको मात्र कुरा उठाएर सरकारले जनयुद्धलाई पूरै अस्वीकार गरेको छ, शान्तिप्रक्रियाको भावनाविपरित बजेट आएको हाम्रो मूल्यांकन छ, सापकोटाले भने,’यसले मधेस आन्दोलन पनि स्वीकार गरेको छैन, बजेट सच्याइएन भने सदन अबरुद्धसम्मको कार्याक्रम गर्नुपर्ने हुन्छ ।’

दलको बैठकले बजेट सम्शोधन अनिवार्य रहेको निष्कर्ष निकालेको छ । सभासद सापकोटाका अनुसार बैठकले बजेट आत्मनिर्भरतको सिद्धान्तविपरित रहेको, राष्ट्रिय पुँजीको नभई दलाल पुँजीको पक्षमा वकालत गरेको निष्कर्ष पनि निकालेको छ ।