इजरायल र प्यालेस्टाइनको हिंसा रोक्न मुनको आग्रह

असार ३०, काठमाडौ ।

इजरायल र प्यालेस्टाइनमा हालैका दिनमा जारी रहेको आक्रमण रोकी शान्ति स्थापानाका लागि आवश्यक उपाय अपनाउन संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले आग्रह गरेका छन् । उनले गाजामा हाल जारी रहेको आक्रमण रोक्न तत्कालै पहल गर्न पनि दुवै पक्षसँग आग्रह गर्नुभएको छ । मुनका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा हिंसा रोक्दा दुवै पक्षका हितमा हुने उल्लेख गरिएको  छ ।

सो विज्ञप्तिमा इजरायल प्यालेस्टाइनबीचको समस्या सैनिक कारबाहीबाट समाधान होला भन्नेमा कुनैपनि विश्वास नभएको र जतिसक्दो चाँडो शान्तिवार्ताको पहल गर्न अपिल गरीएको  छ ।

इजरायलले गाजामा गरेको बम आक्रमणका कारण आजसम्ममा मृत्यु हुनेको सङ्ख्या १७० भन्दा बढी पुगेको समाचार छ । गत हप्ताबाट सुरु भएको सो आक्रमणमा दिनहुँ नागरिकको ज्यान गइरहेको बेला उनले अपिल गरेका छन् ।अधिकारीहरुले १७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र हमासले इजरायलको मध्यभागमा रकेट आक्रमण गरेको जनाएका छन् ।

आइतबार पनि गाजा सिटीको नजिकैैको एक सहर तुफाहमा आक्रमण भएको छ । सो आक्रमणमा परी एक हजार ५०० भन्दा बढी नागरिक नराम्ररी घाइते भएका छन् । ती मध्ये अधिकांश अस्पतालमा उपचार गराइरहेका छन् ।