चापागाईँको ‘रिलदेखि डिजिटलसम्म’ले भन्छ सत्य हरिषचन्द्र देखि आजसम्मको कथा

असार २९, काठमाडौँ –

संचारकर्मी  क्रन्दन चापागाईंद्वारा लिखित ‘रिलदेखि डिजिटलसम्म’ नामक पुस्तक सार्वजनिक भएको छ ।     विश्व चलचित्रदेखि नेपाली चलचित्र इतिहासबारे लेखिएको उक्त पुस्तकको आज वरिष्ठ चलचित्रकर्मी यादव खरेलले सार्वजनिक गर्दै नेपाली चलचित्रबारे लेखिएको पुस्तकको अभाव रहेको बेलामा उक्त पुस्तकले केही हदसम्म अभाव परिपूर्ति गर्ने विश्वास व्यक्त गरे ।

पुस्तकको समीक्षा गर्दै डा प्रदीप भट्टराईले पुस्तक चलचित्र पत्रकार, साहित्यकार, चलचित्र अध्ययनकर्ता र विद्यार्थीलाई अति उपयोगी हुने बताए । लेखक चापागाईंले आफूले गरेको २० वर्ष लामो चलचित्र पत्रकारिताका अनुभव र अनुसन्धानबाट सो  पुस्तक तयार पारिएको बताए ।

पुस्तकमा पहिलो नेपाली भाषाको चलचित्र ‘सत्य हरिश्चन्द्र’देखि २०७० सम्म निर्माण भएका कथानक चलचित्रका बारेमा विश्लेषण  र रिलबाट सुरु भएको प्रविधिदेखि डिजिटलसम्मको इतिहास, नेपाली चलचित्रका घुम्तीका बारेमा विश्लेषण गरिएको छ । केपी पुस्तक भण्डार तथा एसकेएन सिनेमा प्रालिद्वारा आयोजित कार्यक्रममा नेपाली कथानक चलचित्र ‘आगो २’ को गीत तथा झलकसमेत सार्वजनिक गरिएको थियो ।