सरकारद्धारा ६ खर्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत

असार २९, काठमाडौँ –

सरकारले आगामी आर्थिक वर्ष २०७१-७२ का लागि ६ खर्र्ब १८ अर्ब १० करोडको वार्षिक बजेट प्रस्तुत गरेको छ ।     अर्थमन्त्री डा रामशरण महतले आइतबार व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गरेको आयव्यय बिवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार अर्थात ६४.५ प्रतिशत, पूँजीगततर्फ रु एक खर्ब १६ अर्ब ७५ करोड ५० लाख ४२ हजार अर्थात १८.९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब दुई अर्ब ३९ करोड ३७ लाख ६३ हजार अर्थात १६.६ प्रतिशत रहेको  बताए ।

उक्त खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १९.५ प्रतिशत र संशोधित अनुमानको तुलनामा ३७.४ प्रतिशतले बढी हो ।  आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट रु चार खर्ब २२ अर्ब ९० करोड, साँवा फिर्ता प्राप्तिबाट रु एक अर्ब र वैदेशिक अनुदानबाट रु ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार व्यहोर्दा रु एक खर्ब २० अर्ब ८१ करोड ४० लाख ७६ हजार न्यून हुनेछ ।

सो न्यूनता पूर्ति गर्न वैदेशिक ऋणबाट रु ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार जुटाइने बजेटमा उल्लेख छ । राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा खुद रु ७१ अर्ब २८ करोड ५३ लाख छ हजार न्यून हुन जाने रकम पूर्ति गर्न रु ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र रु १८ अर्ब ५३ करोड ५३ लाख छ हजार चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने उल्लेख गरिएको छ ।