साहित्यमय दुइसयौँ भानु जयन्ती

असार २९,काठमाडौँ ।
नेपाली  साहित्यका मुर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको स्मरणमा आज दिनभर जसो स्वदेश तथा विदेशमा विविध कार्यस्मरण गरी स्मरण गरिएको  छ । आदिकविको दुइसयौँ जन्मजयन्तीको अवसर पारी उनको जन्म स्थान तनहुँमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

भर् जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भइकन आज यस्तो

यता भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त आचार्यद्वारा लिखित यही कवितांशलाई सभापति बनाएर भक्तपुर साहित्यिक समाजले ४५औँ साहित्य वाचन शृङ्खला आज सम्पन्न गरेको छ । कार्यक्रममा यसपटक करिब २४ जना सर्जकले आफ्ना रचना सुनाएका छन् ।

गजलकार रञ्जिता थापाको गजलले भने द्वन्द्वकाल सम्झायो ।

टुलुटुलु हेर्छन् आँखा फोटोबाट सिरानमाथि
कसरी पो राखे दाइले मेरा बालाई चिहानमाथि

त्यस्तै, काभ्रेका रवीन विष्ट स्नेहीको गजलले कार्यक्रमलाई भाव विव्हल बनायो ।

यसरी पनि चित्त बुझाउनु है मेरी आमा
हात गुमाएर पठाएको छु रुपैयाँहरू

आदिकविको रचनालाई नै सभापति बनाइएको कार्यक्रममा बीचबीचमा भानुभक्तको जीवनीसमेत प्रस्तुत गरिएको थियो । दिवसकै अवसरमा आज कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले नेपालमा रहेका सबै भाषा, संस्कृति, कला र साहित्यको समयानुकूल विकास, संरक्षण र संवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भानु द्वि–शतवार्षिक समारोह समिति र भानु प्रतिष्ठानले २०१औँ भानु जयन्तीका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री गौतमले नेपालमा बोलिने सबै भाषाको उत्तिकै महत्व रहेको बताएका थिए ।

नेपाली भाषा सरकारी कामकाजका भाषा तथा सबै नेपालीको सम्पर्क भाषा भएकाले त्यसको छुट्टै महत्व रहेको बताउँदै उनले आदिकवि भानुभक्त आचार्यले रामायणसहित धेरै साहित्य सिर्जना गरी नेपाली भाषाको विकास र विस्तारमा ठूलो योगदान पुर्याएको चर्चा गरेका थिए ।