एमाले महाधिवेशनमा मतगणना जारी, वली अघि-अघि नेपाल पछि पछि

असार २९, काठमाडौँ –

नेकपा एमालेको नवौँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी  छ ।  जारी मतगणनाको प्रारम्भिक नतिजामा १४ पदाधिकारीमध्ये अध्यक्ष सहित १२ पदाधिकारीमा ओली पक्षले अग्रता लिएको छ । जम्मा ४ सय २२ मतदाता रहेको एक नम्बर बुथको ३०० मत गन्दा ओलीले २१ मतले माधव नेपाललाई उछिनेका छन् ।मतगणना स्थलमा रहेका विष्णु रिजालका अनुसार ४२२ मतगणनापछि भोलिसम्मका लागि स्थगित हुनेछ । ३ सय मतमध्ये ओलीले १ सय ५२ र नेपालले १ सय ३१ प्राप्त गरेका छन् ।

अध्यक्ष सहित १४ पदाधिकारीमध्ये नेपाल पक्षका २ जनाले मात्र झिनो मतले अग्रता लिएका छन् । पाँच उपाध्यक्षमध्ये ओली पक्षका चार जनाले अग्रता लिएका छन् भने नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्यको अग्रता देखिएको छ । उपाध्यक्षहरुमध्ये सबैभन्दा बढी मत वामदेव गौतमले १ सय ६७ प्राप्त गरेका छन् ।

त्यस्तै विद्या भण्डारीलाई १ सय ६६, किरण गुरुङलाई १ सय ४८, प्रदीप नेपाललाई १ सय ४७ र अष्टलक्ष्मी शाक्यलाई १ सय ४३ मत प्राप्त भएको छ । त्यस्तै उपाध्यक्ष उम्मेदवारहरु युवराज ज्ञवालीले १ सय ४२, धर्मनाथ प्रसाद साह १ सय ३८, भीम रावल १ सय ३६, राजेन्द्र पाण्डेले १ सय ३० र लालबाबु पण्डितले १ सय २७ मत प्राप्त गरेका छन् ।हासचिवमा ओली प्यानलका इश्वर पोखरेलले नेपाल प्यानलका सुरेन्द्र पाण्डेलाई १९ मतले पछि पारेका छन् । जम्मा ३ सय मत गन्दा पोखरेललाई १ सय ५६ र पाण्डेलाई १ सय ३७ मत प्राप्त भएको छ ।

उपमहासचिवमा पनि ओली पक्षकै बिष्णु पौडेल र शंकर पोखरेलले अग्रता लिएका छन् । पौडेलले १ सय ६५ र पोखरेलले १ सय ५६ मत पाएका छन् । नेपाल पक्षका घनश्याम भुषालले १ सय ४३ र रघुजी पन्तले १ सय २८ मत पाएका छन् । अब केही बेरमा मतगणना भोली बिहान ८ बजे सम्मका लागी  स्थगीत हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना स्थल वरीपरी सुरक्षा अवस्था कडा पारिएको छ ।