एमाले नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी, ओली पक्षको अग्रता

असार २९, काठमाडौँ –
नेकपा एमालेको नवौँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । मध्यान्हपछि शुरु भएको मतगणनामा केहीबेर अघिसम्मको परिणामअनुसार केपी शर्मा ओली पक्षको अग्रता देखिएको छ ।

मतगणना स्थल काठमाण्डुको त्रिपुरेश्वरस्थित रङ्गशाला बाहिर प्रतिनिधि र कार्यकर्ताको भीड लागेको छ । नयाँ विधानअनुसार १४ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिएको छ ।

एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेदवारी परेको छ ।

त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेदवारी परेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले औपचारिकरुपमै मतपत्रमा प्यानल उल्लेख गर्नुभएको छ ।