पाँच करोडको विरोधमा १ घण्टा धर्ना

काठमाडौँ, २९ असार –

सभासदले आ आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने भन्दै माग गर्दै  आएको पाँच करोड प्रति विरोधका आवाज सुनिन थालेका छन् । नागरिक समाजका अगुवा, विभिन्न पेसामा आबद्ध युवा तथा सामाजिकत सङ्घसंस्थाले सभासद्लाई पाँच करोड दिनुभन्दा जतिसक्दो चाँडो संविधान देओस् भन्ने माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधस्वरुप एक घण्टा धर्ना दिएका छन् ।

शान्तिका लागि साझा अभियान (कोक्याप)को अगुवाइमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइएको थियो । सो अवसरमा मानवअधिकारकर्मी कपिल श्रेष्ठले विकासका नाममा रु पाँच करोड माग्नुभन्दा सभासद् पदबाट नै राजीनामा दिएर व्यापारको क्षेत्रमा लाग्न सभासद्लाई सुझाव दिए ।

मानवअधिकारकर्मी चरण प्रसाईं, सुशील प्याकुरेल र गजाधर सुनार लगायतले सानातिना विकासे काममा अलमल नगरिकन निर्धारित समयभित्र जनताको संविधान जारी गर्न आग्रह गरे  ।