त्रिभुवन विमानस्थलमा ‘पूर्ण आपत्कालीन अभ्यास’

असार २८, काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुनसक्ने सम्भावित दुर्घटनापछि आपत्कालीन व्यवस्थापनको तयारी गर्ने उद्देश्यले आज विमानस्थलमा ‘पूर्ण आपत्कालीन अभ्यास’ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको अभ्यासका क्रममा साङ्केतिक रूपमा गाउन्डेड जहाजमा धुवाँ निकालिनुका साथै बाहिरी भागमा आगो लगाई उद्धारको अभ्यास गरिएको थियो ।

काठमाडौँ विमानस्थलमा अवतरण गर्न लागेको विमानस्थलमा अकस्मात् धुवाँको गन्ध आएपछि सो जहाज र जहाजका यात्रुलाई कसरी सुरक्षित गर्ने भन्ने अभ्यास गरिएको हो ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले उक्त अभ्यासको अवलोकन गरेका थियो ।

विमानस्थलका महाप्रबन्धक ऋषिराज शर्माले आपत्कालीन अवस्थामा विमानस्थलमा ‘जीवन र सम्पत्ति’ दुवैको क्षति सकेसम्म कम गर्न र सुरक्षाका लागि पूर्व तयारी गर्न अभ्यास गरिएको जानकारी दिए  । विमानस्थल सञ्चालन प्रक्रियामा संलग्न विभिन्न हवाई सङ्स्थाका कर्मचारी, सेना, प्रहरी, वारुणयन्त्र, स्वास्थ्यकर्मी लगायतलाई अभ्यासमा सहभागी गराइएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्रावधानअनुसार यस्तो परीक्षण एक वर्ष अल्प आपत्कालीन अभ्यास र अर्को वर्ष पूर्ण आपत्कालीन अभ्यास गर्नुपर्नेछ ।  सोही अनुसार त्रिभुवन विमानस्थलमा गत वर्ष अल्पकालीन अभ्यास गरिएकामा यस वर्ष पूर्ण आपत्कालीन अभ्यास गर्न लागिएको हो । यसअघि २०६३, २०६५, २०६७ र २०६९ मा पूर्ण आपत्कालीन अभ्यास गरिसकिएको थियो ।