राष्ट्रपतिका लागि भएको मतदानको पुनः मतगणना हुने

असार २९, काठमाडौँ –

अफगानिस्तानमा दोश्रो चरणमा भएको मतदानको फेरि मतगणना हुने भएको छ । राष्ट्रपति पदका प्रतिस्पर्धी असरफ घानी र अब्दुल्लाह अब्दुल्लाह दुबैले आ–आफनो जीत भएको दावी गरेपछि फेरि मतगणना गर्न सहमति भएको हो ।

चुनावकै कारण मतभेद निम्तिने सम्भावना बढेपछि अफगानिस्तान पुग्नु भएका अमेरिकी विदेशमन्त्री जोन केरीको मध्यस्थतामा फेरि मतगणनाका लागि राजी गराइएको हो । दुबै प्रतिस्पर्धीलाई साथमा राखेर जोन केरीले पत्रकार सम्मेलनमार्फत् यससम्बन्धि जानकारी गराएका थिए ।

गत महिना भएको दोश्रो चरणको निर्वाचनमा राष्ट्रपति पदका प्रतिस्पर्धी घानीले ५६ तथा अब्दुल्लाहले ४४ प्रतिशत मत प्राप्त गरेका थिए । मतपरिणामलगत्तै राष्ट्रपति पदका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाहले मतगणनामा धाँधली गरिएकाले आफू विजयी भएको घोषणा गरेका थिए ।