नुनको मूल्य सय रुपैयाँ स्थानीयले अलिनै खान्छन् तरकारी

असार २९ , बाजुरा ।

बाजुराको बिच्छाया गाविसमा एक केजी नुनको सय रुपैयाँ पर्छ । तर सय रुपैयाँ तिरेर पनि गाविसका बासिन्दाले नुन खान पाएका छैनन् । नुन अभाव भएपछि उनीहरु अलिनो खान बाध्य छन् ।

बाजुराको उत्तरी क्षेत्रका साप्पाटा, जुकोट, गोत्री, रुगिनलगायत गाविसमा पनि नुन अभाव छ । सरकारले कोल्टीमा मात्र नुन बाँड्छ । तर बिच्छायाबाट कोल्टी पुग्न चाररपाँच दिन लाग्छ । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जाँदा पनि सात केजी मात्र नुन पाइन्छ । तर त्यति नुन महिना दिन पनि पर्याप्त नभएको स्थानीय धिर रोकायाले बताए । कोल्टीमा सात केजी नुन किन्न ९९ रुपैयाँ पर्छ । तर आवतजावत गर्न दुई हजारभन्दा बढी खर्च हुने गरेको स्थानीयको भनाई छ ।

त्यसैले उनीहरु नुन लिन तिब्बत पुग्छन् । तर, उताबाट ल्याएको नुनले धेरै समय नपुगेकाले अधिकांश समय अभावै हुने गरेको बिच्छाया(१ का धनबहादुर धामीले बताए । कोल्टीसम्म सरकारी अनुदानको नुन लिन कोही पनि नजाने अर्का स्थानीय कृष्ण बुढाथोकीले बताए । उत्तरी क्षेत्रका साप्पाटा, जुकोट, गोत्री, रुगिन, बिच्छायालगायत गाविसका जनतालाई सेवा दिन कोल्टीमा स्थापना भएको नुन डिपो धेरै स्थानीयका लागि अपायक छ ।

रुगिन र बिच्छायाका स्थानीयलाई रुगिनको कवाडी बजारमा नुन डिपो राखेमा सहज हुने स्थानीयको माग छ । डिपोका लागि पटक पटक पहल गरेको भएपनि सरकारले वास्ता नगरेको उनीहरुको गुनासो छ ।