एमालेको मतगणना भोलि बिहानबाट मात्रै सुरु हने

असार २८, काठमाडौँ  –

नेकपा एमालेको नवौँ महाधिवेशनको नयाँ निर्वाचनको मतगणना भोलि  बिहानबाट मात्रै हुने भएको छ ।

गएराति सम्पन्न भएको मतदान आज अपराह्न प्रारम्भ गर्ने तयारी भए पनि अध्यक्षका प्रत्यासीहरु माधवकुमार नेपाल र केपी शर्मा ओली समूहका प्रतिनिधि र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीबीच मगणनाको विधि, आचारसंहिता र स्थानबारे छलफल लम्बिएका कारण आज गणना हुन नसकेको निर्वाचन अधिकृत सोमनाथ प्यासीले जानकारी दिए ।

दुवै पक्षको समझदारीमा आज साँझ ५ बजेबाट रङ्गशालामा सुरु गर्ने तयारी भए पनि राति गणना नगर्ने पछिल्लो सहमतिका कारण भोलि बिहान ८ बजेदेखि सोही स्थानमा गणना हुनेछ   ।

रातिको अवधिमा गणना गर्दा अलमल र अनिँदो हुने भएकाले बिहान र दिउँसो मात्रै गणना गर्ने सहमति भएको प्यासीले बताए  ।