यौनसम्पर्क गर्न नमान्दा श्रीमतीको हत्या

असार २८, काठमाडौँ –

आफूसँग यौनसम्पर्क गर्न नमानेको भन्दै कनकाई नगरपालिका चप्रामारका उमानाथ गहतराजले छातीमा मुक्का प्रहार गरी श्रीमती मञ्जुको हत्या गरेका छन् । मञ्जु उमानाथकी दोस्री श्रीमती हुन् ।

उमानाथले बिहीबार राति २३ बर्षीया श्रीमती मञ्जुको हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पहिलो श्रीमतीले अर्को बिहे गरेपछि उनले मञ्जुलाई भित्र्याएका थिए । उनीहरुका दुई नाबालक सन्तान छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हृदयघातका कारण श्रीमतीको मृत्यु भएको जानकारी दिएपछि गाउँलेले अन्त्येष्टि गर्न घाट पुर्‍याएका थिए । तर मञ्जुले आफ्नो सासुसँग छुट्टिएर बस्न खोजेको र यो विषयमा श्रीमान(श्रीमतीबीच विवाद भएको जानकारी माइतीलाई थियो । त्यही झगडाका कारण छोरीको हत्या भएको हुनसक्ने भन्दै माइतीले प्रहरीमा उजुरी गरेका थिए ।

उजुरीका आधारमा प्रहरी चौकी सुरुंगाले बिहीवार घाटमा शब जलाउने तयारी गरिरहेको बेला उनलाई पक्राउ गरेको थियो । माइती पक्षलाई खबरै नगरी स्थानीय कनकाई माईमा मञ्जुको दाहसंस्कार गर्न लाग्दा प्रहरीले सूचना पाएको थियो । शब जलाउने अन्तिम तयारी भइरहँदा प्रहरी टोलीले उमानाथलाई नियन्त्रणमा लिएपछि गाउँले तितरबितर भएका थिए ।