कांग्रेस-एमालेका सभासद भन्छन् – ५ करोड नदिए बजेट पास हुँदैन

असार २८ , काठमाडौँ – नेपाली कांग्रेस र एमालेका सभासदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ५ करोड विनियोजन नगरिए बजेट पारित हुन नदिने चेतावनी दिएका छन् । सरकारले आइतबार आर्थिक वर्ष २०७१र७२ को बजेट सार्वजनिक गर्ने तयारी गरेका बेला संविधानसभा सदस्यहरुले क्षेत्र विकास कार्यक्रमले सबै क्षेत्रमा सन्तुलित विकास हुने दाबी गरेका छन् ।

‘निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ५ करोड उपलब्ध नगराए बजेट पास हँुदैन, एमाले सभासद दीपक कार्कीले भने,’जनताका प्रतिनिधिलाई बद्नाम गर्ने काम नगरियोस् ।’ आजको नागरिक दैनिकले समाचार छापेको छ ।

कार्कीले गाउँको विकास देख्न नचाहने, केन्द्रीकृत शासन प्रणलाीका पक्षपाती, विकेन्द्रकरणका विरोधी र भ्रष्टाचार तथा कमिसन खान पल्किएकाले क्षेत्र विकास कार्यक्रमको विरोध गरेको आरोप लगाए । कांग्रेस सभासद शंकर भण्डारी, मीन विश्वकर्मा, पार्वती डिसी चौधरी, केशवकुमार बुढाथोकी तथा एमाले सभासदहरु दीपक कार्की, बिदुर सापकोटासहित तीन दर्जन संविधानसभा सदस्यले शुक्रवार रसाजधानीमा पत्रकार सम्मेलन गर्दै क्षेत्र विकास कार्यक्रमका विपक्षमा उभिने विकासविरोधी भएको समेत आरोप लगाएका छन् ।