अर्जेन्टिना र जर्मनीबिच उपाधिका लागी ३० गते भिडन्त हुने, तेस्रो स्थानका लागि शनिबार ब्राजिल र नेदरल्याण्ड्सबीच भिड्ने

असार २६, काठमाडौँ ।

विश्वकप फुटबलअन्तर्गत आज बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेल जित्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न नेदरल्याण्ड बिरुद्धको खेलमा अर्जेन्टीनाले जित हातपारेसंगै जर्मनीसंगको उपाधि भिडन्त पक्का भएको हो ।  निर्धारित र थपिएको ३० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटबाट विजयी टोलीको टुङगो लगाईएको हो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । उपाधिका लागि अर्जेन्टिनाले अब  ३० गतजर्मनीसँग उपाधिका लागी भिड्नेछ । जर्मनी यस अघिनै आयोजक ब्रजिललाई ७–१ गोलको फराकिलो अन्तरले हराउदै फाईनल प्रवेश गरिसकेको छ । तेस्रो स्थानका लागि भने पर्सी शनिबार राती ब्राजिल र नेदरल्याण्ड्सबीच खेल हुने तालिका छ ।  यसअघि अर्जेन्टिना सन् १९९० मा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले हारेको थियो ।

डिएगो म्याराडोनाको नेतृत्वमा रहेको तत्कालीन अर्जेन्टिनी टोलीको त्यो हारको बदला मेसी नेतृत्वको टोलीले लिने अवसर पाएको छ । अर्जेन्टिना अहिलेसम्म जम्मा ५ पटक विश्वकपको फाइनल पुगेर  दुई पटक विश्वकप उचाल्न सफल भएको थियो । तीनपटकको च्याम्पियन जर्मनीलई फाइनलमा हराउनु अर्जेन्टिनाका लागि सजिलो भने छैन ।