बागलुङ–बुर्तिवाङ सिधा यातायात अवरुद्ध

असार २५, बागलुङ – वर्षायाम लागेसँगै मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बुर्तिवाङ सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । सडकखण्डमा पर्ने खोलाहरुमा पानीको बहाव बढेपछि गाडी वारपार गर्न सकिएको छैन । करिब ९५ किलोमिटरको यस खण्डको तीन स्थानमा यातायात अवरुद्ध भएको धौलागिरि अञ्चल जिप व्यवसायी समिति बागलुङले जनाएको छ । हटिया–हरिचौर जोड्ने दरमखोला, ग्वालीचौरको न्वाराखोला र भीमगिठेस्थित भीमगिठे खोलामा पानीको सतह बढेपछि बुर्तिवाङदेखि सदरमुकामसम्मको सिधा यातायात सेवा प्रभावित भएको हो । बस, जिपलगायत कुनै पनि सवारीसाधनले खोला वारपार गर्न नसकेको समितिका उपाध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो ।