एमाले महाधिवेशनमा विधान संसोधनको विवादका कारण निर्वाचन प्रक्रियामा लम्बियो

असार २५, काठमाडौं –  पदाधिकारी संख्याका विषयमा विवाद देखिएपछि काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेशन लम्विने भएको छ । पदाधिकारी संख्या बढाउने या घटाउने भन्ने विषयमा अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपाल र संदिीय दलका नेता केपी शर्मा ओलीबीच विवाद देखिएपछि विधानमा दफावार छलफल भएको छ । विधानमा दफावार छलफल सुरु भएपछि महाधिवेशन लम्विने पक्का भएको हो । अहिलेसम्म भएको छलफल अनुसार पाँच उपाध्यक्षमा दुई जना खुल्लाबाट, एक महिना, एकजना जनजाति, एक जना मधेशी राख्ने गरि छलफल भएको एमालले जनाएको छ ।

यसैगरि आजको बन्द सत्रबाट केन्द्रिय लेखा परिक्षण आयोगको प्रतिवेदन र केन्द्रिय निर्वाचन आयोगको प्रतिवेदन पारित भएको छ । यसैगरी आजको बन्द सत्रमा भाग लिदै एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारी र सल्लाहकार कमिटिका अध्यक्ष सिद्धिलाल सिंह सक्रिय राजनितिक जिवनबाट स्वेच्छिक अवकाश लिएको घोषणा गरेका छन् ।  १९ गतेबाट जारी एमाले महाधिवेशन हिजै सक्ने कार्यतालिका थियो । मंगलबारको बन्दसत्रमा नेता नेपाल पक्षले बढाउन पर्ने र ओली पक्षले बढाउन नहुने अडान लिएपछि महाधिवेशन लम्विएको प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए ।

सचिव युवराज ज्ञवालीले महाधिवेनको बन्दसत्रमा प्रस्तुत गरेको विधानमा संशोधन प्रस्तावमा पदाधिकारी १५ र केन्द्रिय कार्यसमिति १४९ सदस्यीय हुने उल्लेख छ । अहिलेको कार्यसमितिमा एमालेको पदाधिकारी संख्या ९ रहेको छ । बन्दसत्रमा पेश भएका राजनीतिक र संगठनात्मक प्रस्ताव भने मंगलबार पास भैसकेका छन् ।
निर्वाचन आयोगले भने निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने जनाएको छ । आज विधान संसोधन प्रस्ताव पारित भए, रातिदेखि नै मतदाताको नामावली प्रकाशन गर्नेलगायतको चुनावी प्रक्रिया सुरु गर्ने एमाले निर्वाचन कमिटिको तयारी छ ।