प्राङगारिक कृषिका लागी ५ लाख अनुदान

 असार २५ , कास्की –

जिल्ला कृषि विकास कार्यलय कास्कीले माया अर्गानिक नर्सरी तथा तरकारी फर्म पोखरा १५ लाई प्राङगारिक कृषि अभियानको लागि ५ लाख अनुदान सहयोग गरेको छ । क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्य , जिल्ला कृषि विकास कार्यलय कास्कीका बरिष्ठ कृषि विकास अधिकृत रमेश प्रसाद कोइरालाले संयुक्तरुपमा माया अर्गानिक नर्सरी तथा तरकारी फर्मका अध्यक्ष माया केसी लाई चेक हस्तान्तरण गर्नुभएको हो । कृषि मन्त्रालय मार्फत आएको अनुदान लाई जिल्लाले वितरण गरेको बताइएको छ ।

यसै विच सो सस्थाले आजै देखि बेमौसमी तरकारी खेती रोगकिरा नियन्त्रण सम्बन्धी ५ दिवसिय तालिमको आयोजना गरेको छ ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले अहिले अर्गानिक बस्तुको माग रहेको बताउदै कृतिम रुपमा बनाइएका रासायनिक विषादीको प्रयोग विना प्राकृतिकरुपमा बनाइएका मलहरुको प्रयोगले गरीने खेतीनै अर्गानिक हुने बताउनु भयो ।

अनुदानको सहीसदुपयोग  हुनुपर्ने भन्दै आचार्यले प्राङगारिक अभियानमा अनुदानले टेवा पुर्याउने बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका बरिष्ठ कृषि विकास अधिकृत रमेश प्रसाद कोइरालाले पोखरामा साउन देखि विषादी भए नभएको कृषि उपज जाच गर्ने यन्त्र आउने बताउदै अर्गानिक कृषि तर्फ जोड दिनु पर्ने बताउनु  भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका प्राविधिक साहायक लिला प्रसाद पंगेनीले मन्त्रलायले उपलब्ध गराएको अनुदान रकममा ५ लाख थप गरेर  कार्य गर्नुपर्ने भन्दै राजनैतिकदल सहित आफुहरुले  अनुगमन पनि गर्ने  बताउनु भयो  ।

माया अर्गानिक नर्सरी तथा तरकारी फर्मका अध्यक्ष माया केसीले आफुहरुले २०औं बर्ष देखि अर्गानिक अभियान संचालन गरेको बताउदै राज्यले अहिले आएर सहयोग गरेको भन्दै आफुहरुले पुर्ण सदुपयोग गर्ने प्रतिबद्धत्ता पनि जनाउनु भएको छ । विषादीको प्रयोगले मानिसमा विभन्न समस्या देखिनथालेको भन्दै किसान उपभोक्ता ब्यपारी सवै सजग हुनु पर्ने बताउनु भयो ।आज देखि शुरु भएको तालिम ५ दिन सम्म चल्ने छ ।