सार्क सम्मेलनका कारण बन्ने भो रानीपोखरीमा पानीफोहरा

असार २४ काठमाडौँ –

सार्कको १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरी रानीपोखरीमा पानीफोहरा निर्माण गरिने भएको छ । दक्षिण एसियाका आठ राष्ट्र संलग्न सार्कको १८औँ शिखर सम्मेलन यसपटक नेपालको आयोजनामा आगामी कात्तिकमा काठमाडौँमा हुने भएकाले शहरको आर्कषण बढाउनका लागी फोहरा निर्माण कार्यलाई  सुरु गर्न लागीएको हो ।

सम्मेलनस्थल निकटका क्षेत्रको सौन्दर्य कायम गर्ने जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा पानीफोहरा निर्माण गर्न लागेको हो । उक्त प्रयोजनका लागि महानगरपालिकाले सरकारसँग रु. सात करोडको बजेट प्रस्ताव गरेको महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए  । श्रेष्ठका अनुसार रानीपोखरीमा पानीफोहरा निर्माण गर्न र त्यस वरिपरिको भौतिक संरचनाको मर्मत गर्न लागि  सात करोड खर्च हुने अनुमान छ ।

सार्क सम्मेलनलाई लक्ष्यित गरी उक्त योजना बनाइएको भए पनि रानीपोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा पहिचान बनाइराख्न सहयोग पुग्ने श्रेष्ठको दाबी छ । मल्लकालीन समयमा राजा प्रताप मल्लले छोराको मृत्यु भएपछि आफ्नी रानीलाई खुसी बनाउन उक्त पोखरीको निर्माण गरेका थिए । रानीपोखरी राजधानीकै मुटु मानीने रत्नपार्क नजिकै  छ  ।