सेमीफाइनलको पहिलो खेलमा ब्राजिल र जर्मनी आमने सामने हुने

असार २४ , काठमाडौँ –

ब्राजिलमा जारी विश्वकप २०१४ को फुटबल अन्तर्गत आजदेखी सेमिफाइनलमा खेल सुरु हुदैछ । खेल  नेपाली समयअनुसार राती १ः४५ हुनेछ । पहिलो सेमिफाईनलमा ब्राजिल र जर्मनी भिड्ने छन् भने भोलि बिहान हुने सेमिफाईनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्ने छ ।  ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम चारमा पुगेका छन् ।

पाँचपटकको विश्वकप विजेता ब्राजिल छैठौं पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धूनमा छ भने तीनपटकको विश्वकप च्याम्पियन जर्मनी ब्राजिललाई पाखा लगाउँदै चौथोपटक उपाधि रक्षा गर्ने दाउमा छ । यसअघि १९औँ संस्करणको विश्वकपमा जर्मनी उपविजेता बनेको थियो । समूहचरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको थियो भने अन्तिम १६ मा चिलीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पन्छाउँदै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

यस्तै क्वार्टरफाइनल खेलमा ब्राजिलले कोलम्बियालाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गर्यो । सेमिफाइनल भिडन्तमा ब्राजिलले आफ्ना दुई स्टार खेलाडीलाई गुमाउने भएको छ । कप्तान थिएगो शिल्भा र स्ट्राइकर नेयमार सेमिफाइनलमा खेल्दैनन् । जारी प्रतियोगितामा कप्तान शिल्भाले दोहोरो पहेँलो कार्ड खाएकाले खेल नपाउने भएको हो । नेयमारलाई चाहिं ढाडमा चोट लागेकाले कम्तीमा चार हप्ता आराम गर्नुपर्ने भएको छ । कोलम्बियाविरुद्धको खेलमा कोलम्बियाका खेलाडी क्विन्टेरोले खेलको ८७औँ मिनेटमा मैदानमा लडाएपछि चोटग्रस्त नेयमार प्रतियोगितामा सहभागिता जनाउन नसक्ने भएका हुन् ।

यस्तै जर्मनीले अमेरिकालाई पराजित गर्दै समूह ‘जी’को विजेता बनेको थियो । अन्तिम १६ मा अल्जेरियालाई २–१ गोलअन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा प्रवेश गरेको थियो । यस्तै जर्मनी क्वार्टरफाइनल भिडन्तमा फ्रान्सलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल बनेको थियो । सन् २००२ पछि जर्मनी लगातार चौथोपटक सेमिफाइनलमा पुगेको हो । यसअघि सन् २००२ मा उपविजेता बनेको जर्मनी सन् २००६ र २०१० को विश्वकपमा तेस्रो भएको थियो ।