महिलामाथि हुने यौन हिंसाविरुद्ध धर्ना

काठमाडौँ, २३ असार ।

महिलामाथि हुने यौनहिंसा तथा बलात्कारविरुद्ध महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले बानेश्वरमा आज एक घण्टा धर्ना दिएको छ । विगत दुई वर्षदेखि महिलामाथि हुने विभिन्न खालका यौन हिंसा अन्त्य तथा न्याय, समानता र मानव अधिकार सुनिश्चितका लागि सञ्जालले देशव्यापी रूपमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ ।

सोहीअनुरूप आज बानेश्वरमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिइएको हो । सो अवसरमा सडक नाटकसमेत प्रदर्शन गरिएको थियो । लैङ्गिक समानता तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यमान ऐन संशोधन गर्न बनेको विधेयकमा प्रस्तावित महिला हिंसा अन्त्यका प्रावधान पर्याप्त नभएको भन्दै यसअघि सञ्जालले दश बुँदे माग सरकारलाई बुझाइसकेको छ ।