एमालेले आफ्नै आम्दानीमा पार्टीलाई आत्मनिर्भर बनाउने

असार २३, काठमाडौँ ।

नेकपा एमालेले आगामी दिनमा चन्दा सहयोगलाई प्राथमिकता नदिई पार्टी कमिटीको आफ्नै आम्दानीको स्रोतमा पार्टीलाई आत्मनिर्भर बनाउने प्रस्ताव अघि सारेकोे छ । भृकुटीमण्डपमा जारी नवौँ महाधिवेशनमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी आर्थिक रूपमा सबल र स्वायत्त हुनुपर्ने, चन्दा सहयोगजस्ता कार्यलाई प्राथमिकता नदिई उत्पादनमुखी हुनुपर्नेमा जोड दिइएको छ ।

एमाले प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीका अनुसार अब पार्टी कमिटीले आर्थिक उत्पादन गर्ने र कार्यकर्ताले राज्यलाई कर तिर्ने कार्यलाई प्रश्रय दिने बताए । एमालेको मुख्य आम्दानी पार्टी सदस्यता शुल्क, लेबी, मन्त्री, सांसद तथा राजनीतिक नियुक्तिका लेबी एवम् खासखास बेलामा लिइने चन्दा सहयोग हुने गरेको छ । आयोगले अन्य पार्टीका तुलनामा एमालेको लेखा व्यवस्थापन प्रणाली मजबुत भएपनि समयमा फछ्र्यौट नगर्ने, सरकारी नियुक्ति भएकाले समयमा लेबी नदिनेजस्ता समस्या औँल्याएको छ ।

सो प्रतिवेदनमा गत पाँच वर्षको अवधिमा रु पाँच करोड बचत भएको जनाइएको छ । प्रतिवेदनमा विसं २०६५ साल फागुन ५ गतेदेखि १४ गतेसम्म बुटवलमा भएको आठौँ महाधिवेशनयताको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको छ । आयोगले पाँच वर्षमा रु २२ करोड ३२ लाख आम्दानी र रु १७ करोड ३१ लाख खर्च भई रु पाँच करोड एक लाख बचत भएको जनाएको छ ।