उपक्षेत्रीय अस्पतालमा डायलायसिस सेवा सुरु

असार २३, पर्सा ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आजदेखि मिर्गौला रोगीहरूका लागि डायलायसिस सेवा सुरु गरिएको छ । काठमाडौँको वीर अस्पतालबाट आएका प्राविधिकको सहयोगमा उपक्षेत्रीय अस्पतालले यो सेवा सुरु गरेको हो । वीर अस्पतालबाट आएका प्राविधिक मोहन महर्जनको निगरानीमा हेटौँडा नगरपालिका–११ निवासी ५१ वर्षीय जानुका घिमिरेको डायलायसिस गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । चार वर्षअगाडि स्वास्थ्य मन्त्रालयले दुई थान अत्याधुनिक डायलायसिस मेसिन पठाए पनि प्राविधिकको कमीका कारण मेसिन थन्किएर बसेको थियो ।

एउटा मेसिनको मर्मतसम्भार गरी सेवा सुरु गरेको उपक्षेत्रीय अस्पतालले जनाएको छ । उपक्षेत्रीय अस्पतालले सुरु गरेको डायलायसिस सेवा निःशुल्क हुने मेसु ठाकुरले बताउनुभयो । उहाँले समान्य प्रक्रियालाई पूरा गरी अस्पतालमा आएका बिरामीलाई हप्तामा दुईपटक निःशुल्क सेवा दिइनछ ।  पर्सा, रौतहट, मकवानपुर, सर्लाहीलगायतका जिल्लामा मिर्गौला रोगीको सङ्ख्या बढी रहेकाले एउटा मेसिनले नपुग्ने भई अर्को मेसिन मर्मतका लागि पठाइएको छ । मर्मत नभएको खण्डमा नयाँ मेसिनका लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी माग गरिने बताइएको  छ ।