भट्टराईसँग मिलेर काजीलाई पेल्दा चुनाव हारिएको प्रचण्डको निष्कर्ष

२२ असार, काठमाडौँ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराईसँग मिलेर नारायणकाजी श्रेष्ठलाई पेल्दै अगाडि बढ्दा दोस्रो संविधान सभाको निर्वाचनमा पराजय भोग्नु परेको बताएका छन् ।

बुद्धिजीवी, केन्द्रीय कार्यालय, कर्मचारी, पत्रकार ,संसदीय मोर्चा, अन्तर्राष्ट्रिय विभागका अगुवा कार्यकर्तालाई पार्टी मूख्यालयमा शनिवार प्रशिक्षण दिने क्रममा प्रचण्डले भने,’बाबुरामजी र म मिलेर नारायणकाजीलाई पेल्दा चुनाव हारियो । हामी मिल्दैमा राम्रो हुने होइन । तथ्यमा आधारित हुनुपर्छ । दुई सय ४० निर्वाचन क्षेत्रबाट आएका रिपोर्टमा फसियो ।’

प्रशिक्षणमा सहभागी एक नेताले प्रचण्डको भनाई उदृत गर्दै दिएको जानकारी अनुसार श्रेष्ठले नेकपा(माओवादीलार्य बाहिर राखेर संविधानसभा निर्वाचनमा जान नहुने अडान राखेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पार्टीका केन्द्रीय सदस्यको मनोगत रिपोर्टमा भर पर्दा इमान्दार कार्यकर्तालाई उपेक्षा गर्दा र अबसरवादी कार्यकर्ताको घेरामा परेका कारण निर्वाचनमा पराजय भोग्नु परेको प्रचण्डको समिक्षा छ । उनले पार्टीले आगामी निर्वाचन जित्ने विश्वास कार्यकर्तालाई दिलाउन खोजेका थिए । कार्यकर्ताले प्रचण्ड र भट्टराईको विवाद स्वभाविक नलागेको तथा विवादले संगठन अस्तव्यस्त भएको गुनासो राखेका थिए ।

प्रचण्डले भदौ १५ देखि माघ १५ सम्म सडकवाट दबाब दिने र सदनमा बहस गरी संविधान निर्माणमा केन्द्रीत हुने कार्ययोजना बनाएका छन् । भट्टराई पहिलेको विधिविधान र टालटुले सुधारले पार्टी नचल्ने बताए । ‘२० औँ शताब्दाी लेनिनको मान्यताअनुसारको राजनीति कार्यदिशा र संगठनात्मक सिद्धान्तले पुग्दैन । टालटुले सुधारले पनि हुँदैन । हिजोको विधानविधानले पनि हुँदैन, प्रचण्डप्रति लक्षित गर्दै भट्टराईले भनेका थिए,’नमर्दासम्म पार्टी र सत्तामा टाँसिरहने प्रवृत्ति पनि ठीक छैन । भिन्न मतको अस्तित्वविना पार्टी चल्न सक्दैन ।’