शान्ति मिसनमा जाने नेपाली सेनाको अवधि बढ्यो, कमाई दोब्बर, कमलाई अबसर

२२ असार, काठमाडौँ । संयुक्त राष्ट्रसंघले अफ्रिकालगायत द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकको अवधि आगामी अक्टुबरदेखि १ बर्ष कायम गर्ने भएको छ । राष्ट्रसंघले यही ब्यहोरासहितको पत्र नेपाली सेनालाई पठाइसकेको छ ।

सुरक्षा खर्च व्यवस्थापन र कटौतीको रणनीतिअनुसार राष्ट्रसंघले शान्ति मिसनमा खटिने जनशक्तिको अवधि बढाउन लागेको हो । आजको कारोबार दैनिकले समाचार छापेको छ ।  ’पोहोर नै १ वर्ष बनाउने जानकारी आएको थियो, सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले भने,’आन्तरिक व्यवस्थापन र प्राविधिक कारण देखाउँदै हामीले केही वर्ष पर्खन भनेका थियौँ तर यही अक्टुबरदेखि नै राष्ट्रसंघले अरु मुलुकझै नेपाली सैनिकको अवधि एकै वर्ष बनाउने चिठी पठाएको छ ।’

अहिले अब्जर्भरमा खटिएका अधिकृतको १ वर्ष र पल्टनका जनशक्तिको कार्यकाल ६ महिना रहँदै आएको छ । राष्ट्रसंघले भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत मुलुकबाट खटिएका शान्ति सैनिकको कार्यकाल गत वर्षदेखि नै ६ महिनाबाट बढाएर १ वर्ष बनाइसकेको छ ।

नेपाली सेनामा सबै तहका जनशक्तिका लागि शान्ति मिसन आम्दानीको प्रमुख स्रोत हो । एक पटक अब्जर्भरका रुपमा सहभागी हुँदा करिब ४५ लाख र पल्टनमा जाँदा जनही ६ देखि ८ लाख रुपैयाँसम्म पारिश्रमिक पाइन्छ । अबधि बढेपछि मिसनमा छनोट भएका सैनिकलाई आर्थिक रुपमा फाइदा भए पनि तल्लो तहका सेनाको ठूलो संख्या यो अवसर पाउनबाट वञ्चित भने हुनेछ । नेपाली सेना सन् ि१९५८ देखि राष्ट्रसंघको आहृवानमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ खटिँदै आएको छ ।