एसियाली विकास बैंकद्धारा सिँचाइ आयोजना निर्माण सम्पन्न

२१ असार, कञ्चनपुर ।

एसियाली विकास बैंक (एडिबी)को अनुदानमा कञ्चनपुरको दैजी–३ बछेलामा सामुदायिक उपसिँचाइ आयोजना निर्माण भएको छ । बैंकको अनुदान रु २३ लाख २८ हजार र नेपाल सरकारको रु पाँच लाख ४६ हजारमा आयोजना निर्माण गरिएको हो । आयोजना निर्माणका लागि स्थानीय बासिन्दाले रु पाँच लाख ४९ हजार बराबरको जनश्रमदान गरेका छन् ।

आव ०७०÷७१ को असोज महिनादेखि आयोजना निर्माणको कार्य सुरु गरिएको थियो । आयोजना निर्माण भएपछि पोल्खरी र धर्मपुरका २६२ बासिन्दाको १३४ दशमलव ३ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको बछेला सामुदायिक उपसिँचाइ आयोजनाका अध्यक्ष प्रेमबहादुर साउदले बताउनुभयो । सिँचाइ आयोजनाको मुख्य कुलोको लम्बाइ एक हजार ७९० मिटर रहेको छ ।

शाखा कुलोको लम्बाइ दुई हजार ४१० मिटर रहेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यस क्षेत्रका बासिन्दा आयोजना निर्माण भएपछि मौसमी, बेमौसमी तरकारीखेती र नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् ।