इराकमा फसेका भारतीय नर्स पनि फर्किए

२१ असार,काठमाडौँ  ।

nurses-350_070414025527

इराकका विभिन्न स्थानमा फसेका भारतीय नर्सहरु घर फर्किएका छन् । इराकमा फसेका कम्तीमा पनि ९४ जना भारतीय नागरिक भारत फर्किएको केही दिनपछि  हिजो ती नर्स घर फर्किएका हुन् । चारदिन अघिमात्र इराकी द्वन्द्वग्रस्त सहर मोसुलबाट ९४ जना भारतीय नागरिक घर फर्काइएको समाचारमा जनाइएको छ ।  सो कामका लागि भारत सरकारले त्यहाँ अधिकारी खटाएको छ ।  इराकी उत्तरी सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिने क्रममा सयभन्दा बढी भारतीय नागरिकलाई इराकी सुन्नी मुस्लिमका लडाकूले अपहरण गरेका थिए । ती मध्ये ४६ जना नर्स पनि अर्काे एक इराकी सहरमा फसेका थिए । ती नर्सहरु टिक्रिट सहरमा फसेका थिए ।

टिक्रिटमा रहेको एक सरकारी अस्पतालमा ती नर्सहरु काम गरिरहेका थिए । सो सहर पनि इराकी सुन्नी मुस्लिम जिहादीहरुले नियन्त्रणमा लिदा ती नर्सहरु अस्पतालमै लुकिछिपी बसेका थिए । भारतीय अधिकारीहरुले ती नर्स भारत आइपुग्न लागेका र शनिबार उनीहरुका आफन्तले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम राखेका बताएका छन् ।

टिक्रिट सहरलाई जिहादीहरुले आफ्नो नियन्त्रणमा लिएपछि बन्धक बनेका उनीहरुको उद्वारका लागि ती नर्सका आफन्तले सरकारसँग आग्रह गरेका थिए । उनीहरु निकै चिन्तित रहेका पनि बताइएको छ । ती नर्सलाई इराककै एक उत्तरी सहर अर्बिलबाट विमान चार्टर गरी शनिबार बिहानै घर फर्काइएको र सम्भवत उनीहरु आज मध्यान्हसम्ममा आफ्नो घर दक्षिणी भारतको केरला पुग्ने पनि बताइएको छ ।      उनीहरुको अवस्था बुझ्न भारतीय अधिकारीहरु विगत लामो समयदेखि इराकमा नै रहेका थिए । उनीहरुले ती भारतीय नागरिकलाई घर फर्काउनका लागि कूटनीतिक पहल गरेका थिए ।