माथिल्लो मादी जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न

२० असार, पोखरा ।

कास्कीको सिल्दुजुरे गाउँ विकास समिति वडा नं ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण कार्य सकिएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माण कार्य अझै एक वर्ष लम्बिने सङ्केत देखिएको छ । आयोजनाको निर्माण कार्य यसै वर्षको चैत मसान्तसम्म सक्ने लक्ष्य राखिएकोमा निर्माण कार्य आधामात्रै सकिएकाले अर्को वर्षको चैत महिनासम्म सक्ने लक्ष्य रहेको छ ।

जेठ महिनाको अन्तिमसम्म एक हजार पाँचसय किलोमिटर सुरुङ खन्ने काम सकिएको छ भने बाँकी दुई हजार पाँच मिटर सुरुङ खन्ने काम धमाधम भइरहेको छ । दुई महिनाअघि सुरुङ खन्ने क्रममा माथिबाट पहिरो आई क्षति पुर्याएकाले त्यसको पनि निर्माण कार्य जारी छ । विद्युत् गृह र टनेल बनाउने काम पनि भइरहेको छ । अनुमानित लागत करिब ६० मिलियन अमेरिकी डलर अर्थात् पाँच अर्ब २८ करोड बराबरको रकम स्वदेशी तथा वैदेशिक सहयोग जुटाई उक्त आयोजना पूरा गरिने बताइएको छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा गत वर्षको पुस महिनाबाट आयोजना सुरु गरिएको थियो ।

आयोजनाको निर्माण कार्यका लागि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्युरो–१० चेन्डु चाइनालाई कन्ट्याकको अवधारणाअनुसार सम्झौता गरी आयोजना निर्माणको जिम्मा दिइएको छ ।  आयोजनाका लागि पानी फर्काउने बाँध सिल्दुजुरे गाविस वडा नं ४ र नागार्जुन गाविस वडा नं ८ को सिमाना चालुमा पर्छ । यो बाँधको आवश्यक संरचना तयार गरी त्यहाँबाट चार हजार २०० मिटर लामो सुरुङ निर्माण गरी सिल्दुजुरे गाविस वडा नं ९ डाँडाबारीमा पानी खसालिने छ ।   आयोजनाको निर्माणबाट यस क्षेत्रका ५० हजार बासिन्दा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।