विश्वकप फुटबलमा आजदेखि सेमिफाइनल प्रवेशका लागि खेल सुरु हुने

२० असार, काठमाडौँ ।

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाईनल प्रवेशका लागि खेल शुरु हुँदैछ । यसअन्तर्गत आज राती पौने १० बजे हुने पहिलो खेलमा फ्रान्सले जर्मनीको सामना गर्नेछ । यस्तै भोलि बिहान पौने २ बजे हुने अर्को खेलमा ब्राजिल र कोलम्बिया भिड्दैछन् । यस्तै भोलि हुने खेलमा अर्जेन्टिनाले बेल्जियमको सामना गर्नेछ भने नेदरल्याड्सले कोष्टारिकासँग भिड्ने छ ।  जारी विश्वकप फुटबल अन्र्तगत सेमिफाइनल चरण प्रवेशका लागि शीर्ष आठ टिम अब मैदानी भिडन्तमा उत्रिने भएका छन् । आजदेखि सञ्चालन हुने बीसौँ संस्करणका क्वार्टरफाइनल खेलमा युरोपका चार, दक्षिण अमेरिकाका तीन तथा उत्तर अमेरिकाको एक टिमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ब्राजिल, नेदरल्यान्डस्, फ्रान्स, जर्मनी, बेल्जियम, अर्जेन्टिना, कोलम्बिया र कोस्टारिकाले सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् । यी आठै टिम आ–आफ्नो समूहको समूह विजेता हुन् । ब्राजिल समूह ‘ए’, नेदरल्यान्डस् ‘बी’, फ्रान्स ‘ई’, जर्मनी ‘जी’, बेल्जियम ‘एच’, अर्जेन्टिना ‘एफ’, कोलम्बिया ‘सी’ र कोस्टारिका समूह ‘डी’को समूह विजेता टिम हुन् ।

पाँचपटकको विश्वकप विजेता ब्राजिलले अन्तिम १६ को खेलमा चिलीलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गर्यो भने जारी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने टिम नेदरल्यान्डस्ले मेक्सिकोलाई २–१ गोलअन्तरले पाखा लगाउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । जारी प्रतियोगितामा नेदरल्यान्डस्ले १२ गोल गरेको छ । त्यस्तै, एकपटक विश्वकप जितेको फ्रान्सले प्रिक्वार्टरफाइनल खेलमा नाइजेरियालाई २–० गोलले पछि पार्दै क्वार्टरफाइनमा प्रवेश गर्न सफल भयो । अट्ठाइस वर्षको लामो यात्रापछि बेल्जियम पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।