विश्वकप फुटबलमा भोलिदेखि क्वार्टरफाइनलका खेल सुरु हुने

१९ असार, काठमाडौँ  ।

जारी विश्वकप फुटबल अन्र्तगत सेमिफाइनल चरण प्रवेशका लागि शीर्ष आठ टिम अब मैदानी भिडन्तमा उत्रिने भएका छन् । भोलिदेखि सञ्चालन हुने बीसौँ संस्करणका क्वार्टरफाइनल खेलमा युरोपका चार, दक्षिण अमेरिकाका तीन तथा उत्तर अमेरिकाको एक टिमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ब्राजिल, नेदरल्यान्डस्, फ्रान्स, जर्मनी, बेल्जियम, अर्जेन्टिना, कोलम्बिया र कोस्टारिकाले सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् । यी आठै टिम आ–आफ्नो समूहको समूह विजेता हुन् । ब्राजिल समूह ‘ए’, नेदरल्यान्डस् ‘बी’, फ्रान्स ‘ई’, जर्मनी ‘जी’, बेल्जियम ‘एच’, अर्जेन्टिना ‘एफ’, कोलम्बिया ‘सी’ र कोस्टारिका समूह ‘डी’को समूह विजेता टिम हुन् ।

पाँचपटकको विश्वकप विजेता ब्राजिलले अन्तिम १६ को खेलमा चिलीलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गर्यो भने जारी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने टिम नेदरल्यान्डस्ले मेक्सिकोलाई २–१ गोलअन्तरले पाखा लगाउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । जारी प्रतियोगितामा नेदरल्यान्डस्ले १२ गोल गरेको छ । त्यस्तै, एकपटक विश्वकप जितेको फ्रान्सले प्रिक्वार्टरफाइनल खेलमा नाइजेरियालाई २–० गोलले पछि पार्दै क्वार्टरफाइनमा प्रवेश गर्न सफल भयो । अट्ठाइस वर्षको लामो यात्रापछि बेल्जियम पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

प्रिक्वार्टरफाइनलमा बेल्जियमले अमेरिकालाई २–१ गोलअन्तरले पराजित गर्दै २८ वर्षपछि पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् १९८६ मा भएको विश्वकपमा यो मुलुक क्वार्टरफाइनलमा पुगेको थियो । तीनपटकसम्म विश्वकप फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको जर्मनीले अन्तिम १६ को खेलमा अल्जेरियालाई २–१ गोलअन्तरले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्यो ।

यस्तै, कोलम्बियाले उरुग्वेलाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षितमात्रै गरेन, उमेर समूहमा नयाँ कीर्तिमानसमेत कायम गर्यो । गोलरक्षक फारयड मोन्ड्रागनले ४३ वर्षको उमेर समूहमा विश्वकप खेल्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि, सन् १९९४ मा भएको विश्वकपमा क्यामरुनका खेलाडी रोजर मिल्लाको नाममा रहेको कीर्तिमानलाई भङ्ग गर्दै गोलरक्षक मोन्ड्रागनले नयाँ कीर्तिमान कायम गरे । रोजरले ४२ वर्षको उमेरसम्म विश्वकप खेलेका थिए ।

यसैगरी, अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई १–० गोलले पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश गर्यो । यसअघि अर्जेन्टिनाले विश्वकप फुटबल प्रतियोगितामा दुईपटक उपाधि उचालिसकेको छ । त्यस्तै कोस्टारिकाले ग्रीसलाई ५–३ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । प्रिक्वार्टरफाइनल खेलमा कोलम्बिया, फ्रान्स र नेदरल्यान्डस्ले खेलको निर्धारित समयमा जित हासिल गरेको थियो भने जर्मनी, बेल्जियम र अर्जेन्टिनाको टिमले खेलको अतिरिक्त समयमा आ–आफ्नो मुलुकलाई जित दिलाएका थिए ।

त्यस्तै, कोस्टारिका र ब्राजिलले भने टाइब्रेकरमा जित हासिल गरेका थिए । खेलको निर्धारित समय र थप अतिरिक्त समयसम्म पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जारी प्रतियोगितामा जर्मनीका थोमस मुलर र स्विट्जरल्यान्डका हेर्डन साक्विरीबाहेक अन्य खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् । यस्तै कोलम्बियाका खेलाडी जेम्स रोड्रिगुएजले सर्वाधिक पाँच गोल गरेका छन् भने जर्मनीका थोमस मुलर, अर्जेन्टिनाका लियोनल मेसी तथा ब्राजिलमा नेयमारको नाममा समान चार÷चार गोल रहेको छ ।

 

त्यस्तै, फ्रान्सका करिब बेन्जेमा, नेदरल्यान्डस्का आर्जेन रोबिन र रोबिनभान पर्सीको नाममा समान तीन÷तीन गोल रहेको छ । भोलि शुक्रबारको पहिलो खेल बेलुका ८ः४५ बजे फ्रान्सले जर्मनीको सामना गर्नेछ भने दोस्रो खेल बिहान १ः४५ बजे ब्राजिल र कोलम्बिया आमनेसामने हुने छन् ।