एमाले नवौँ महाधिवेशन ढिलो गरी सुरु, कतै समर्थन – कतै आलोचना

१९ असार,  काठमाडौँ ।

नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।  आज देखि काठमाडौँमा सुरु भएको नवौँ महाधिवेशनको एमाले अध्यक्ष झलनाथ खनालले उदघाटन गरेका छन् । दिउँसो ढिलो गरी सुरु भएको उद्घाटन शत्रको माहोल  निकै अव्यवस्थित देखिन्थ्यो । उद्घाटनशत्रमा यसअघि गरिएको प्रचार फिक्का जस्तै देखिन्थ्यो । अब्यबस्थित ब्यबस्थापनका कारण उद्घाटन शत्रको माहोल भद्रगोलले भरिएको थियो । यसअघि रोबर्टबाट उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्रविधिले धोका दिँदा एमाले अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर औपचारीक रुपमा महाधिवेशन उद्घाटन गरेका छन् । उद्घाटनस्थलमा रोबोट हेलिकप्टरले पुष्पवर्षा भने गरेको थियो ।

उदघाटन समारोहमा विभिन्न दलका शीर्ष नेता र विदेशी पाहुना पनि सहभागी भएका छन् । महाअधिवेशनलाई संविधानसभामा प्रतिनित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरुले सम्वोधन गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै विभिन्न दलका नेताहरुले महाधिवेसनले संविधान निर्माणलाई बल पुग्ने नीति र नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । उद्घाटन सत्रमा संविधानसभाका प्रतिनिधित्व गर्ने सवैजसो दलको सहभागिता रहेको छ । प्रमुख दलका दोस्रो तहका नेताहरू उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागि छन् ।

महाधिवेशनको उदघाटन समारोहमा आमन्त्रित मध्ये केही दलले नेकपा एमालेको समर्थन गरेका छन भने कसैले आलोचना गरेका छन् ।नेकपा संयुक्तका चन्द्रदेव जोशीले ढिलै भएपनि एमालेले सही कार्यदिशा लिएको बताए । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले एमालेसंग शासकीय स्वरुपमा सहमति जुटन सक्ने संकेत गरे ।

राप्रपा बाट पशुपति समशेर राणा र सूर्यबहादुर थापा दुइटै सहभागि हुन पुगेका थिए । सम्वोधन राणाले गरेका थिए ।त्यस्तै  नेकपा माओवादीका सचिव सिपी गजुरेलले माओवादी विना संविधान बन्न नसक्ने बताए । उनले सबैलाई समेटेर लैजान सक्ने नेतृत्व चयनको अपेक्षा पनि व्यक्त गरे  । राप्रपाका नेता पशुपति समशरेर राणा, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुले पनि संविधान बनाउनेमा नै केन्द्रित हुन सुझाव दिएका छन् । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी, सदभावना पार्टीका राजेन्द्र महतोले पनि सम्बोधन गरेका थिए । नेपालका राजनीतिक दलका नेताहरूले बोलिसकेपछि विदेशी अतिथिहरूले बोलेका थिए ।

उद्घाटनसत्रमा आफूहरुलाई सहभागी नगराइएको र प्रवेश नदिइएको भन्दै एमालेका कार्यकर्ताहरुले उद्घाटन स्थल बाहिर नाराबाजी गरेका छन । उनीहरुले स्वागत गेट भत्काएका छन् भने सडकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् । महाधिवेशनमा करिब दुईहजार तीन सय २५ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै विभिन्न देशबाट पनि अतिथिहरु आउने एमालेले जनाएको छ ।

महाधिवेशनका लागि आन्तरिक रुपमा २ सय स्वयंसेवक पार्टीले खटाएको जनाएको छ । ठूलो संख्यामा शसस्त्र र जनपद प्रहरी पनि परिचालन गरिएको छ । भित्र उद्घाटन भइरहँदा भित्र पस्न नपाएको भन्दै कार्यकर्ताहरूले भने प्रदर्शनी मार्गमा प्रदर्शन गरेका थिए । उनीहरूको प्रहरीसंग झडप समेत भएको थियो । कार्यकर्ताले व्यानरहरू तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । उद्घाटनस्थलमा जान नपाएको भनेर आक्रोशित भएका कार्यकर्ताले बाहिर नाराबाजी गर्नुका साथै विभिन्न स्थानमा तोडफोड गरेका छन् ।

आगामी नेतृत्वका लागि वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली मैदानमा छन् ।  महाधिवेशन यही असार २५ गतेसम्म जारी रहने छ ।