एमालेको नवौं महाधिवेशन आज देखि राजधानीमा सुरु

१९ असार, काठमाडौ ।

नेकपा एमालेको नवौं महाधिवेशन आज देखि राजधानीमा सुरु हुँदैछ । ‘शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ काठमाण्डुको भृकुटीमण्डपमा आज दिउँसो १ बजे ग्राफिक एनिमेसन, थ्रिडी एनिमेशन र मेकानिकल एनिमेसनको प्रयोग गरेर रोबोटबाट महाधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ ।

महाधिवेशनका लागी एमालेमा २ हजार २ सय १४ जना प्रतिनिधि चयन भैसकेका छन् ।  विधान अनुसार ५ प्रतिशत अर्थात १ सय ११ जनाको मनोनयन बिहीबार उद्घाटन शत्रपछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले  जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय सभागृहबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै विभिन्न देशबाट पनि अतिथिहरु पनि आउने एमालेले जनाएको छ । बालबच्चा राख्न डे केयर सेन्टर राखिने भएको छ भने स्वास्थ्य परिक्षणको व्यवस्था पनि गरिने भएको छ । महाधिवेशनका लागि आन्तरिकरुपमा २ सय स्वयंसेवक पार्टीले खटाएको जनाएको छ भने सुरक्षा निकायले महाधिवेशन स्थलको बाहिरबाट निगरानी गर्ने मूल व्यवस्थापन समितिले जनाएको छ । महाधिवेशनको प्रत्यक्ष गतिविध वेभसाइटमार्फत दिइने पनि जनाइएको छ ।

पहिलेजस्तो पर्चा, पम्पलेट, ब्यानर, भित्तेलेखन र जनप्रदर्शन नगर्ने निर्णय गरेको एमालेले महाधिवेशनमा अध्याधुनिक प्रविधिको प्रयोग गर्दैछ । ग्राफिक एनिमेसन, थ्रिडी एनिमेसन र मेकानिकल एनिमेसनको माध्यमबाट उद्घाटन सत्रलाई विशेष र आकर्षक बनाइने एमालेले जनाएको छ । महाधिवेशनका लागि झण्डै ५ करोड रुपैयाँ खर्च हुने एमाले अर्थ विभागको अनुमान छ ।

विद्युतीय मेसिनबाट मतदान हुने, १० देखि ११ घण्टा भित्र मतदान सकिने र एक घण्टा भित्रै परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।