ओबामा सबैभन्दा नराम्रो राष्ट्रपतिको सूचीमा शिर्ष स्थानमा

१९ असार, काठमाडौँ  ।

अमेरिकामा गरिएको एक नयाँ अभिमत सर्वेक्षणमा हाल दोस्रो पदावधिमा रहनुभएका राष्ट्रपति बाराक ओबामा दोस्रो विश्वयुद्ध पछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा परेका छन् । किनिपियाक विश्वविद्यालयले गरेको सर्वैक्षणमा भाग लिने व्यक्तिमध्ये ३३ प्रतिशतले राष्ट्रपति ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् ।

अट्ठाइस प्रतिशतले उहाँ पूर्वका रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसलाई यस्तो अवस्थामा हेरेका छन् । सर्वेक्षणमा भाग लिने ३५ प्रतिशतले सन् १९८१ देखि १९८९ सम्म शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्ड रेगनलाई सन् १९४५ पछिको सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन् । १८ प्रतिशतले यस्तो अवस्थामा बिल क्लिन्टनलाई छनौट गरेका छन् । १५ प्रतिशतले भने जोन एफ केनेडी सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन् ।

किनिपियाकको सर्वेक्षणका सहायक निर्देशक टिम मालोयले ६९ वर्षको अमेरिकी इतिहासमा १२ जना राष्ट्रपति भएको र राष्ट्रपति बाराक ओबामा तथा राष्ट्रपति जर्ज डब्लु बुस सबैभन्दा नराम्रो राष्ट्रपतिको रूपमा देखा परेको बताए  ।     सर्वेक्षणमा भाग लिने ४५ प्रतिशतले सन् २०१२ को निर्वाचनमा मिट रोम्नीले विजय हासिल गरेको भए अमेरिका राम्रो हुन्थ्यो भन्ने धारणा व्यक्त गरे पनि ३८ प्रशितले उहाँले जितेको भए अझै नराम्रो हुन्थ्यो भन्ने बताए ।