झापामा डेङ्गु नियन्त्रण अभियान सुरु

१९ असार, झापा ।

डेङ्गु रोग नियन्त्रणका लागि झापाका रोग प्रभावित क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्न अभियान थालिएको छ । डेङ्गु रोगबाट बचाउनका लागि बुधबारदेखि दमकका विभिन्न क्षेत्रमा सचेतनामूलक अभियान थालिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापा, स्वास्थ्य चौकी दमक, होटल व्यवसायी सङ्घ, दमक नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसहितको टोलीले लामखुट्टेको लार्भा नष्ट गर्न थालेको हो ।

दमकमा गएको वर्ष दुई दर्जन बढी मासिनसमा डेङ्गुको सङ्क्रमण फेला परेपछि यी क्षेत्रमा यो वष समेत रोग देखा पर्ने सम्भावना भएकाले जोखिम रोक्न अभियान थालिएको जनाइएको छ ।

जिल्लाका मेचीनगर, भद्रपुर, विर्तामोडलगायतका मुख्य सहरी क्षेत्रमा समेत अभियानलाई नियमितता दिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए । सो क्रममा दमकको पश्चिम बस स्टेन्डका आठ वटा टायर पसलको अनुमगन गरी त्यसभित्र रहेका लामखुट्टेको लार्भा नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा लामखुट्टेका लार्भा उत्पादन हुन नदिने र लार्भा भेटिए मट्टितेल हालेर नष्ट गर्ने तरिका पसल सञ्चालक र घर परिवारका सदस्यलाई समेत सिकाइएको गुरुङले बताए  ।