आज असार १५, दहि चिउरा खाने दिन

१३ असार काठमाडौं । आज असार १५, मानो खाएर मुरी उब्जाउने दिन अर्थात दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ ।

वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । आजको दिनमा अधिकांश नेपाली खेत खेतमा भेटिन्छन् ।
यसैबीच विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनले आज राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्दैछन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा प्रत्येक वर्ष गर्दै आएको रोपाई कार्यक्रम आज पनि गर्ने भएको छ ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसहित नेताहरुको उपस्थितीमा संघले भक्तपुरमा रोपाई कार्यक्रम गर्दैछ । अहिले केहीबेरपछि रोपाई कार्यक्रम गर्न लागिएको किसान संघले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम, मन्त्रिपरिषद बैठक, नेकपा एमालेको नजिकिँदो महाधिवेशनले गर्दा विभिन्न पार्टीका नेताहरु अघिल्ला बर्षजस्तै किसानका खेतमा पुग्न भने नभ्याउने बताएका छन् ।
यो वर्ष ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ भन्ने नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइदैछ । धान दिवसका अवसरमा आज ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना हुने कृषि मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ । नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ ।
कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने स्थिति छ ।