सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

१३ असार काठमाडौं । सरकारले संविधान र विकास सँगसँगै अघि बढाउने उद्धेश्यसहित आज आर्थिक बर्ष २०७१÷७२ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
दिउँसो ३ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठकमा सरकारका तर्फबाट राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
संविधान निर्माण र विकास सँगै भन्ने योजना सहित सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेृको हो । कृषिको आधुनिकीकरण, उर्जा संकट निवारण र बेरोजगारी हटाउन केन्द्रीत हुनेगरी नीति तथा कार्यक्रम तयार पारिएको छ । भुमिको चक्लाबन्दी र सामुहीक खेती प्रणालीमा पनि जोड दिइएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा रकम नघटाई विकास निर्माणलाई तिव्रता दिइने र खरिद प्रक्रिया थप व्यवस्थित बनाउने प्रतिवद्धता पनि नीति तथा कार्यक्रममा गरिएको छ । अहिले जारी मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपति यादवकहाँ पु¥याइनेछ । राष्ट्रपति यादवले व्यवस्थापिका संसद्लाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
प्रधानमन्त्री सुशील कोइराला उपचार सकि अमेरिकाबाट फिर्ता हुन समय लाग्ने भएकाले नीति तथा कार्यक्रम समयमा नै प्रस्तुत गर्न लागिएको हो । प्रधानमन्त्री कोइरालाले अमेरिकाबाट टेलिफोन गरी नीति तथा कार्यक्रम र बजेट नरोक्न आग्रह गर्नुभएको थियो ।
यसैबीच व्यवस्थापिका संसदले गर्ने सबै तयारी पुरा भएको जनाएको छ ।
राष्ट्रपति यादवलाई छुट्टै बस्ने व्यवस्था, स्वागतका लागि आवश्यक गृहकार्य, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायतलाई बस्ने व्यवस्था, कुटनीतिक नियोग, सरकारका उच्च अधिकारी सवैलाई बस्ने व्यवस्था मिलाइएको संसद् सचिवालयले जनाएको छ ।