पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख निरौलाद्वारा काम सुरु

११ असार,काठमाडौँ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले बुधबारदेखि पुनःआफ्नो पदीय जिम्मेवारी सम्हालेका छन् । पर्यटन व्यवसायीको दुई महिना लामो आन्दोलनका कारण बोर्ड प्रवेश गर्न नसक्नुभएका निरौलाले एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सुचारु गर्न दिएको निर्देशन पश्चात् आजदेखि काम सुरु गरेका हुन् ।

निरौला बोर्डमा प्रवेश गर्दा बोर्डका केही कर्मचारी र शुभेच्छुकले माला र अबीरद्वारा स्वागत गरेका थिए । बोर्डका निमित्त कार्यकारी प्रमुख निरौलाले पुनः जिम्मेवारी सम्हालेपछि पत्रकारसँग कुराकानी गर्दै लामो समयदेखि बन्द रहेको बोर्डलाई नियमित रुपमा सञ्चालन गर्न व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने बताए  ।

अख्तियारको तीनदिने निर्देशनपछि व्यवसायीको आन्दोलनका कारण ५२ दिनदेखि ठप्प रहेको बोर्डको कार्य यही असार ५ गतेदेखि सुरु भएको थियो । बोर्ड कार्यालय खुले पनि निमित्त कार्यकारी प्रमुखको कार्यकक्ष र टिम्स कार्ड वितरण शाखालगायत महत्वपूर्ण शाखा बन्द थिए जुन आजैबाट सुचारु गर्न निर्देशन दिइएको निमित्त प्रमुख निरौलाले बताए  ।

बोर्डको गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै तत्काल कार्य सुचारु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएपछि त्यसको भोलिपल्ट बोर्ड सञ्चालनमा आएको थियो ।