आन्तरिक कलहले पार्टीलाई मजबुत बनाउछ : प्रचण्ड

१० असार, जनकपुरधाम ।

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा नै संविधान निर्माण हुने सङ्केत प्रष्ट भइरहेको बताएका छन्   । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टी पहिचान र सङ्घीयतासहितको लोकतान्त्रिक संविधानको पक्षमा रहेको बताए ।

उपनिर्वाचनको परिणाम नौलो होइन भन्दै उनले संविधानसभाको निर्वाचनमा ती निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जस्तो स्थान प्राप्त गरेको थियो उपनिर्वाचनमा पनि सोहीअनुरुप परिणाम आएको बताए  ।
फरक प्रसङ्गमा उनले डा बाबुराम भट्टराई र आफूबीच व्यक्तिगत कटुता नभई पार्टीलाई बलियो बनाउने सन्दर्भमा सौद्धान्तिक बहसको निरन्तरता भएको प्रष्ट पारे । सोही प्रसङगमा उनले हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौँ भन्दै दुवैको बीचमा झगडा रहेको कुरामा सत्यता नभएको उल्लेख गरे ।

वरिष्ठ नेता डा भट्टराईले आफ्नो बहस व्यक्तिगत भागबन्डाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि भएको बताए   ।