सत्र फरार अभियुक्त प्रहरीको फन्दामा

१० असार, महोत्तरी ।

महोत्तरी प्रहरीले मङ्गलबार १७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीद्वारा दोषी ठहरिएका १५ जना र प्रहरी अनुसन्धानका क्रममा फरार रहेका दुई जनालाई समातिएको हो । नथुनी साह, शैलदेवी साह, रामनारायण सिंह, रामउदार सिंह, रामनरेश ठाकुर, विपिनकुमार ठाकुर, चन्द्रभूषण मिश्र, लक्ष्मीप्रसाद साह, जुगल केवट मोती साह फकिपद्मबहादुर पाण्डे, रामसेवक यादव, बद्रीराय यादव, हरिदेव ठाकुर, सन्तोष हमाल, विजय महतो र शिवजी यादव रहेका छन् ।

फरार अभियुक्तहरूको खोजविन अभियानअन्तर्गत महोत्तरी प्रहरीको विशेष टोलीले घरबाटै उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये कुटपिट र लुटपाट मुद्दाअन्तर्गत रामनरेश ठाकुरलाई जिल्ला अदालत महोत्तरीले दुई महिना १५ दिन कैद र  एक हजार २०० जरिवाना गरेको छ ।
त्यस्तै, सोही मुद्दाअन्तर्गत विपिनकुमार ठाकुर भूमिहारलाई रु सात हजार २५०, चन्द्रभूषण मिश्रलाई रु दुई हजार ६४०, जालसाजी मुद्दाअन्तर्गत लक्ष्मीप्रसाद साहलाई रु पाँच हजार ५०० जरिवाना गरिएको छ ।

त्यस्तै, डाँका मुद्दाअन्तर्गत जुगल केवटलाई छ वर्ष, जबर्जस्ती करणी मुद्दाअन्तर्गत मोती साह फकिरलाई चार वर्ष नौ महिना, कुटपिट मुद्दामा बद्री राय यादवलाई छ महिना कैद रु दुई हजार जरिवाना, नागरिकता कीर्ते मुद्दाअन्तर्गत हरिदेव ठाकुरलाई एक वर्ष कैद रु पाँच हजार जरिवाना, लुटपाट मुद्दाअन्तर्गत शिवजी यादवलाई दुई वर्ष कैदको फैसला अदालतले गरेको छ । तर डाँका मुद्दाअन्तर्गत प्रहरीले जुगल केवट भनी पक्राउ गरिएका व्यक्ति जुगल केवट नभई जुगल मलाह रहेका छन् भने उनी आफू निर्दोष रहेको दाबी गरेका छन् ।

जिल्ला प्रहरी महोत्तरी अनुसन्धान शाखाका अनुसार जिल्ला प्रहरीको अनुसन्धानको सिलसिलामा ३३९ जना फरार अभियुक्त रहेकामध्ये २५ जना पक्राउ परेका छन् । अदालतद्वारा दोषी ठहरिएका ५१४ मध्ये १५ जनालाई महोत्तरी प्रहरी पक्राउ गर्न सफल भएको छ ।