मौसम पूर्वानुमानको सूचना लिन किसानलाई मोबाइल

८ असार, जुम्ला ।

नेपाल सरकार कृषि मन्त्रालयले आधुनिक प्रविधिमा पहँुच गराउन तथा मौसम पूर्वानुमानको जानकारी लिन मुलुकका परीक्षण छनोट जिल्लाहरूमा किसानलाई मोबाइललगायतका सामग्री वितरण गर्ने भएको छ । जलवायु परिवर्तनका कारण प्रकोपबाट किसानले भोग्नुपर्ने समस्याका बारेमा पूर्वजानकारी लिई पूर्वसावधानी अपनाउनका लागि किसानले सूचना केन्द्रबाट सूचना लिनेछन् ।

त्यसका लागि मुलुकका २५ वटा जिल्लामा कृषि व्यवस्थापन सूचना प्रणाली लागू गर्ने नेपाल सरकार कृषि मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ किरणराज श्रेष्ठले जानकारी दिनुभयो । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख शिवनन्दन साहले जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुन सक्ने जोखिम र क्षतिलाई न्यूनीकरण गर्न, सरकारको क्षमता अभिवृद्धि गर्ने, समयसापेक्ष वास्तविक मौसम जानकारी दिन, जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित भएको जानकारी दिनुभयो ।

बाढी तथा सुक्खाको प्रक्षेपणलाई सुधार गरी जलवायु परिवर्तनबाट जोखिममा पर्न सक्ने कृषक समुदायहरूमा सतर्कता अपनाउन सहयोग गर्ने ध्येयले विश्वबैंकको तीन करोड १३ लाख अमेरिकी डलर सहयोगमा पाँच वर्षे आयोजना कृषि मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित भएको जानकारी दिनुभयो । विशेषगरी अबदेखि किसानले कृषि व्यवस्थापन सूचना प्रणालीअन्तर्गत कृषि सूचना केन्द्रमा आफ्ना समस्याहरू राख्न पाउने भएका छन् । तथापि यो कार्यक्रमको पूर्ण जिम्मेवार स्थानीयस्तरमा जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशु कार्यालय जुम्लाले पूरा गर्नुपर्ने आयोजकले जनाएको छ ।