राष्ट्रप्रमुखको सहभागितामा आज मत्स्येन्द्रनाथको भोटो देखाइने

८  असार ।

रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज अन्तिम दिन अपराह्न राष्ट्रप्रमुखको सहभागितामा भोटो देखाइने भएको छ । जात्राको अन्तिम दिन भोटो देखाउने भएकाले सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ जसले गर्दा जनसमुदायको हजाराँै सङ्ख्यामा सहभागिता रहने अनुमान गरिएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार वर्षा र सहकालको देवताका रूपमा मानिने रातो मत्स्येन्द्रनाथकोे रथ तान्ने जात्रा गत वैशाख २० गतेबाट सुरु भएको हो भने मत्स्येन्द्रनाथको दश कर्मको काम वैशाख २ गतेबाट नै सुरु भएको थियो । जात्राअन्तर्गत पहिलो दिन रथ निर्माण गरिएको स्थान पुल्चोकबाट गाःबहाल, दोस्रो दिन मङ्गलबजार, तेस्रो दिन सुन्धारा हँुदै नवौँ दिन महिलाले मात्र रथ तानेर थटिटोल पुर्याएका थिए भने हिजो अन्तिम दिन जावलाखेल लगिएको हो ।

नरिवल खसाल्ने र रथ निर्माण गर्ने काम नेवार समुदायका अवाल जातिले मात्र गर्ने गर्दछन् । खसालेको नरिवल समात्ने व्यक्ति भाग्यमानी ठानिने र सो व्यक्तिले चाहेको सबै कुरा पुग्ने जनविश्वास रहिआएको छ । ज्योतिष कीर्तिकिरण जोशीका अनुसार गत वर्षभन्दा यस वर्ष रथलाई जावलाखेल लान लामो समय कुर्नुपरेको हो ।

ज्योतिष कीर्तिकिरणका अनुसार जावलाखेलमा भोलि भोटो देखाएपछि मत्स्येन्द्रनाथको पुजारी पानेजुहरूले मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर बाजागाजासहित खटमा राखी ललितपुरको बुङ्मतिस्थित उनकै मन्दिरमा पुर्याएपछि जात्रा यस वर्षका लागि समाप्त हुनेछ ।