संविधानसभा उपनिर्वाचन आज , परिणाम सोमबार बिहान आउने

८ असार  ।

संविधानसभा उपनिर्वाचन आज हुदैछ । गत मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा दुई÷दुई ठाउँबाट चुनाव जितेका उम्मेदवारले एक स्थान छाडेका कारण काठमाडौँ–२, चितवन–४, बर्दिया–१ र कैलाली– ६ मा आज उपनिर्वाचन हुन लागेको हो ।  ती क्षेत्रबाट क्रमशः माधवकुमार नेपाल, सुशील कोइराला, वामदेव गौतम र शेरबहादुर देउवा विजयी हुनुभएको थियो । उहाँहरूले सो स्थान छाडेका कारण उपनिर्वाचन हुन लागेको हो ।

‘सम्पूर्ण मतदान विद्युतीय मतदान ः सबै मत सदर मत’ भन्ने भनाइका साथ निर्वाचन आयोगले ती चारवटै निर्वाचन क्षेत्रमा विद्युतीय उपकरणद्वारा मतदान हुने व्यवस्था मिलाएको छ । आयोगसँग मौज्दात रहेका विद्युतीय उपकरणबाट विद्युतीय मतदानको व्यवस्था मिलाइएको हो ।

चार क्षेत्रमा १३७ मतदान स्थल र ३२४ मतदान केन्द्र छन् । काठमाडौँ–२ मा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवन–४ मा ३१ मतदान स्थल र ८१ मतदान केन्द्र, बर्दिया–१ मा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र साथै कैलाली–६ मा ३० मतदान स्थल र ७५ मतदान केन्द्र छन् ।

आयोगका अनुसार यसपटक ती क्षेत्रमा थप २६ हजार मतदाता परिचयपत्र वितरण गरिएको छ । फोटोसहितको मतदाता परिचयपत्र लिएर मतदान स्थलमा जानुपर्ने आयोगले जनाएको छ । परिचयपत्र केही कारणबाट नभएमा नागरिकता अथवा आफ्नो फोटो भएको परिचय खुल्ने परिचयपत्रबाट पनि मतदान गर्न सकिने आयोगको भनाइ छ ।

उपनिर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, निर्वाचनका लागि खटिने कर्मचारी, केन्द्रीय अनुगमन, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा खटिने जनशक्तिमा कर्मचारी र स्वयम्सेवक गरी जम्मा तीन हजार ५२० जना खटिने प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि करिब ११ करोड खर्च हुने अनुमान आयोगले गरेको छ । आयोगले दुई वर्षअघि नै दुई–दुई ठाउँबाट चुनाव लड्ने प्रावधान राख्न नहुने कानुनको मस्यौदा गरेको भए पनि सोअनुरूपको ऐन बन्न नसक्दा उपनिर्वाचनको व्यवस्थाले निरन्तरता पाएको हो ।

लोकतन्त्रमा निर्वाचनपछि हुने उपनिर्वाचनलाई राजनीतिक दलहरूको लोकप्रियता जाँच्ने कसीका रूपमा लिइने भए पनि खर्चिलो हुने कारण यसप्रकारको उपनिर्वाचनको आलोचना पनि हुँदै आएको छ ।

चारै क्षेत्रको मतदाताको कुल सङ्ख्या दुई लाख पाँच हजार ३०४ छ । त्यसमा एक लाख २८ हजार ८८७ पुरुष, एक लाख २२ हजार ४११ महिला र छ जना तेस्रोलिङ्गी छन् ।

उपनिर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी पहिलो घेरामा र दोस्रो घेरामा सशस्त्र प्रहरी बललाई खटाइने व्यवस्था मिलाइएको छ । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये दलका ६० र स्वतन्त्र १६ छन् । महिला नौ र पुरुष ६७ छन् भने यसपटक ८१ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । काठमाडौँ २ मा ३७, चितवन ४ मा १२, बर्दिया १ मा १२ र कैलाली ६मा १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनको परिणाम असार ९ गते बिहानसम्म आउने प्रमुख आयुक्त उप्रेतीले बताउनुभयो ।