इजिप्टमा १८० जनालाई मृत्युदण्ड

८ असार  ।
इजिप्ट, ७ असार । इजिप्टको अदालतले कम्तीमा पनि १८० जनालाई मृत्युदण्डको सजाय दिने यसअघिको अदालतको निर्णयलाई सदर गरेको छ । यसअघिको अदालतकै उक्त निर्णयप्रति विश्व समुदायले आपत्ति जनाएको बेला त्यहाँको अन्तिम अदालतले भने सो निर्णय गरेको बिबिसीले जनाएको छ । ती मृत्युदण्ड पाउनेमा मुस्लिम ब्रदरहुड दलका कार्यकर्ताहरु रहेका छन् ।

उनीहरुलाई मृत्युदण्ड नदिन विश्व समुदाय र विशेषगरी मानवअधिकारसम्बन्धी विश्वका संघ संस्थाहरुले व्यापक रुपमा विरोध र माग गर्दै आएका थिए । तर अदालतले भने शनिबार सो अपेक्षा विरुद्ध उक्त दलका १८० जनाभन्दा बढी कार्यकर्तालाई मृत्युदण्ड दिने फैसला गरेको छ ।

मिनिया सहरमा रहेको एक अदालतले सुरुमा ६८३ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । सो फैसलाका विरुद्धमा भएको विश्वव्यापकी विरोधपछि त्यहाँका नागरिकले माथिल्लो अदालतमा अपिल गरेका थिए ।
तर तीमध्ये अधिकांशको सो सजायलाई अदालतले कम गरिदिएको छ । कतिपय व्यक्तिको सजायमा मिनाहा दिएको छ भने केहीलाई मृत्युदण्डको सट्टा आजन्म काराबासको सजाय सुनाएको छ ।

पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका कार्यकर्ताहरुलाई सो सजायका घेरामा पारिएको हो । मोर्सीलाई गत जुलाई महिनामा भएको सैनिक कूमार्फत हटाइएको थियो ।