थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको स्मृति दिवस मनाइयो

७ असार, काठमाडौँ ।
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १६ औं स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरिंयो । विष्टको जन्मथलो मकवानपूरको पालुङ्ग उपत्यकामा पनि विभिन्न कार्यक्रम गरेर उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो  । वि.सं. १९९० पुस २६ गते दामन घर्तिखोलामा जन्मनु भएका विष्टको २०५६ साल असार ७ गते काठमाण्डौंमा निधन भएको थियो ।

विष्टले २०२८ सालतिर मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाउनु भएको थियो । छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद ! भन्ने नाराका साथ विष्टले चलाउनु भएको शिक्षा आन्दोलन व्यवहारमै लागु भएको मानिन्छ भने त्यसबेला नै छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था पनि विष्टले गर्नुभएको थियो ।

सबै मानिसले थाहा पाउनुपर्छ भनेर आन्दोलन चलाउनु भएका विष्टले निष्पक्ष–सक्रियताको–अभ्यास थाहा भन्ने सिद्धान्त नै प्रतिवादन गर्नुभएकाले उहाँलाई थाहा आन्दोलनका प्रणेताका रुपमा मानिने गरिएको छ ।