माओवादी राष्ट्रिय सम्मेलन सर्ने

जेठ ३०, काठमाडौ– आगामी असार १० देखि १५ गतेसम्म हुने भनिएको नेकपा–माओवादीको राष्ट्रिय सम्मेलन केही दिन पर सर्ने सम्भावना बढेको छ । सदस्यता नवीकरणको अभिलेख जिल्लाबाट अझै केन्द्रमा आइनसकेको, संविधानसभा उपनिर्वाचन बहिष्कारलगायतका कारणले तयारी नपुग्ने भएकाले सम्मेलन केही दिन पर सर्ने अवस्था आएको हो । माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कडेलले असार १० गतेनै सम्मेलन गर्ने गरी पार्टीले कार्य अगाडि बढाइरहेको बताउादै समयाभावको स्थितिमा मात्रै सम्मेलन केही दिनलाई पर सर्न सक्ने बताउनुभयो । असार १० गतेका लागि तोकिएको सम्मेलन सारेर असारको अन्तिम सातातिर गर्ने तयारी माओवादीले गरिरहेको छ । माओवादीको यस सम्मेलनले पार्टी केन्द्रीय समितिको चयन गर्नुका साथै पार्टीको आगामी कार्यदिशासमेत तय गर्नेछ । माओवादीमा ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशालाई नै यथावत् राखेर अगाडि बढ्ने की ‘जनयुद्ध’मा जाने भन्ने विवाद बढिरहेको सन्दर्भमा हुन लागेको यो सम्मेलनले यसा विषयमा ठोस निर्णय गर्नेछ ।