प्रधानमन्त्री कोइराला–दाहाल भेट

जेठ २०, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसग भेट गरी व्यवस्थापिका संसद्मा भएको अवरोध फुकाइदिन आग्रह गर्नुभएको छ । संविधानसभा निर्वाचनमा भएको भनिएको धाधलीको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने, चारबुदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनुपर्ने, विभिन्न मन्त्रालयबाट भएको रकमान्तर रोकिनुपर्ने लगायतका माग राखेर विपक्षी दलहरुले सदनको कामकारबाही अघि बढ्न दिएका छैनन् । प्रिबजेट छलफलको लागि बोलाइएको व्यवस्थापिका संसद्को पहिलो बैठक नै विपक्षीले चल्न दिएनन् । माग पूरा नभएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ । प्रधानमन्त्री कोइरालाले राजनीतिक संयन्त्र आवश्यक नभएको बताउदै संसदीय छानविन समिति बनाउन तयार रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । व्यवस्थापिका संसद्को बैठक आज पनि दिउसो ३ बजे बोलाइएको छ ।