संबिधान माघ ८ मै आउछ– मन्त्री सिंह

जेठ १६, काठमाडौ– उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधान लेखन प्रक्रिया कार्यतालिका अनुरुप अघि बढिरहेको बताउनु भएको छ । उपप्रधानमन्त्री सिंहले संबिधानसभा भन्दा बाहिर रहेका दलहरुको सुझावलाई पनि समेट्दै निर्धारित कार्यतालिका अनुरुप संबिधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ ८ गतेनै संबिधान जारी हुने बताउनु भयो । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस महामन्त्री समेत रहेका सिंहले नेकपा एमालेले सरकारको कामकारबाहीमा देखाएको असन्तुष्टी तर्कसंगत नभएको दावी गर्नु भयो । सिंहले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमालेले असन्तुष्टी जनाउनु पर्ने कारण नभएको स्पष्ट पार्नु भयो । उहाले २६ जना सभासद् मनोनयन तथा राजनीतिक नियुक्ती देखि सरकार संचालनका हरेक काममा एमालेसंग छलफल भैरहेको र त्यसै अनुरुप अघि बढिरहेको बताउनु भयो । सभासद् मनोनयन बारे पत्रकारहरुले राखेको जिज्ञासामा उप प्रधानमन्त्री सिंहले सरकारले सर्वोच्च अदालत समक्ष अन्तरिम आदेश पुनरावलोकनका लागि निवदेन दिएकाले सर्वोच्चको पुनरावलोकन पर्खिरहेको स्पष्ट पार्नु भयो । संबिधानसभा उप निर्वाचनको तयारीमा चितवन पुग्नु भएका सिंह चितवन क्षेत्र नम्बर ४ मा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।