नेपाल बारले विशेष संवैधानिक सम्मेलन गर्दै

जेठ १५, काठमाडौ–नेपाल बार एसोसिएसनले गणतन्त्र दिवसका अवसरमा विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ । आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा राज्यको शासकीय स्वरूप, मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशीता, राज्यको पुन:संरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा २९ वटा कार्यपत्र प्रस्तुत हुनेभएको छ । पाचवटै विषयमा प्रस्तुत प्रतिवेदन र छलफलबाट प्राप्त सुझावलाई पूर्व सभासद् र वर्तमान सभासद् रहनुभएका कानुन व्यवसायीहरू राधेश्याम अधिकारी, अग्नि खरेल, पुष्पा भुसाल, खिमलाल देवकोटा, एकराज भण्डारी र लक्ष्मणलाल कर्णसहितको टोलीले निष्कर्ष निकाल्ने भएको छ । सम्मेलन उद्घाटन र समापन समारोहमा प्रस्तुत कार्यपत्र र छलफलमा उठेका विषयहरूलाई समेटी तयार पारिएको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई हस्तान्तरण गरिने भएको छ ।